काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी कुनै हालतमा पनि निर्वाचनबाट नभाग्ने स्पष्ट बताएका छन्। सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक प्रक्रियाबाट पछि हट्ने प्रश्न नै नउठ्ने बताए। तर उनले शान्ति, सुरक्षा र भयरहित वातावरणमा मात्र निष्पक्ष चुनाव सम्भव हुनेमा जोड दिए।
“देशमा अहिले पनि अन्योलको स्थिति छ। निर्वाचनका लागि आवश्यक सहज वातावरण बनेको छैन,” उनले भने, “भदौ २४ गतेको आगजनी, लुटपाट र तोडफोडजस्ता घटनामा संलग्नहरूलाई अहिलेसम्म कारबाहीको दायरामा ल्याउन नसकिएको अवस्था गम्भीर चिन्ताको विषय हो।
नेता घिमिरेले राज्यको सुरक्षासंवेदनशील संरचनामा आक्रमण गर्ने, जनधन क्षति पुर्याउने र प्रहरीको हतियार लुट्नेहरूविरुद्ध तत्काल कानूनी कारबाही गर्नुपर्नेमा जोड दिए। सयौँ संख्यामा लुटिएका हतियार अझै फिर्ता आएका छैनन्। यस्तो अवस्थामा कसरी भयरहित चुनाव सम्भव हुन्छ?” उनले प्रश्न गरे।
उनका अनुसार कैदीबन्दीहरू ठूलो संख्यामा फरार रहेकाले मतदातासमेतमा त्रास फैलिएको छ। “जबसम्म हतियार फिर्ता र कैदी नियन्त्रणमा ल्याइँदैन, तबसम्म शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको कल्पना गर्नै सकिँदैन, उनले चेतावनी दिए।
घिमिरेले प्रहरीको मनोबल खस्किएको र धेरै स्थानमा प्रहरी चौकी नै क्षतिग्रस्त भएकाले सुरक्षाकर्मीको बस्ने, खाने र काम गर्ने अवस्था नबनेको बताए। पहिले सुरक्षाको भरोसा दिनुपर्छ, त्यसपछि मात्रै निर्वाचन सम्भव हुन्छ, उनले भने।
उनले हिंसात्मक गतिविधिमा संलग्नमाथि तत्काल कारबाही सुरु गर्न, जेलबाट फरार कैदीहरूलाई फिर्ता ल्याउन कार्यदल गठन गर्न र लुटिएका हतियार फिर्ता गर्ने ठोस रणनीति बनाउन सरकारलाई आग्रह गरे।
त्यस्तै, उनले सरकारलाई सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर अभिभावकको भूमिका खेल्न सुझाए। “२०७९ सालको चुनावजस्तै यदि यसपालि पनि स्थिति उस्तै रह्यो भने त्यसको कुनै अर्थ रहँदैन,
उनले भने।
घिमिरेले मौजुदा संविधानमा आवश्यक संशोधन गरेर निर्वाचन प्रणाली सुधार्नुपर्ने धारणा पनि राखे। उनका अनुसार, संसद् पुनःस्थापना गरी संविधानका केही धाराहरू संशोधन गर्दै ‘जेन–जी आन्दोलन’ले उठाएका जायज मुद्दा सम्बोधन गरेपछि मात्रै आगामी निर्वाचनको औचित्य पुष्टि हुनेछ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया