ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सरकारको दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
ललितपुरको इमाडोलस्थित बोजेपोखरी (इभी दह) मा छठ पूजा व्यवस्थापन समाजद्वारा आयोजित छठ पर्वको शुभकामना कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री खरेलले सरकार निर्वाचन, सुशासन र भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा केन्द्रित रहेको बताएका हुन्।
“अहिलेको सरकार विशेषतः निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अघि बढिरहेको छ,” मन्त्री खरेलले भने। उनले जेन–जी आन्दोलनका क्रममा भएको धन–जन क्षतिको निष्पक्ष अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाइने समेत स्पष्ट गरे।
मन्त्री खरेलले छठ पर्वलाई राष्ट्रिय एकता र आत्मीयताको प्रतीकका रूपमा वर्णन गर्दै यसले सम्पूर्ण नेपालीबीच धार्मिक सहिष्णुता र सामुदायिक सौहार्द बलियो बनाउने विश्वास व्यक्त गरे।
उनले भने, “छठ अब केवल तराई–मधेशबासीको पर्व मात्र होइन, यो सम्पूर्ण नेपालीको साझा गौरव र पवित्रताको प्रतीक हो। छठिया माताले देशमा सुख, शान्ति र समृद्धि प्रदान गरून् भन्ने मेरी हार्दिक कामना छ।”
कार्यक्रममा उनले महालक्ष्मी नगरपालिकालाई अझ सुन्दर, व्यवस्थित र समृद्ध बनाउने जिम्मेवारी सबै नगरवासीको साझा दायित्व भएको उल्लेख गरे। बोजेपोखरीको सफाइ र सौन्दर्यबारे प्रशंसा गर्दै उनले पर्वलाई हर्षोल्लासपूर्वक र व्यवस्थित रूपमा मनाउन सबैमा आग्रह गरे।
मन्त्री खरेलले साँझ बोजेपोखरीमा पुगेर छठी माताको दर्शन, पूजा आराधना र घाट व्यवस्थापनको अवलोकन पनि गरे। उनलाई छठ पूजा व्यवस्थापन समाजका पदाधिकारी र स्थानीयबासीले स्वागत गरेका थिए।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उपस्थितिले उत्सवमा उल्लास थपिएको थियो।
छठ पूजा व्यवस्थापन समाजका अध्यक्ष उमेश्वर यादवले बोजेपोखरीमा विगतदेखि नै छठ पर्व भव्य रूपमा मनाउँदै आएको बताउँदै पर्वले मानव र प्रकृतिबीचको सम्बन्धलाई बलियो बनाउने उल्लेख गरे।
उनले भक्तजनको बढ्दो उपस्थितिका कारण घाट साँघुरो हुने समस्या रहेको जनाउँदै आगामी वर्षदेखि व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने बताए।
यो वर्षको छठ पर्व महालक्ष्मी नगरपालिका–३ बोजेपोखरी संरक्षण तथा विकास समिति र खानेपानी तथा सरसफाइ समितिको सहकार्यमा आयोजना गरिएको हो।
पर्व सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सुरु भएको छ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन गरिएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया