काठमाडौं । बढुवामा छुटेका कारण असन्तुष्ट भएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले राजीनामा दिएको हल्ला चले पनि आधिकारिक पुष्टि भएको छैन। हालसम्म न उनले औपचारिक रूपमा राजीनामा दिएका छन्, न त कार्यालयमा हाजिर भएका छन्।
जेन–जी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका अधिकारी गत कात्तिक ९ गते सार्वजनिक भएको बढुवा सिफारिसमा छुटेका थिए। सो दिन बढुवाका लागि पाँच जना एसएसपीलाई डिआइजी पदमा सिफारिस गरिएको थियो।
२०७८ सालमा एसएसपीमा बढुवा भएका अधिकारी २०८० वैशाखमा बढुवाको सूचीमा पहिलो नम्बरमा रहेका थिए। तर यसपटक उनलाई पन्छ्याएर दोस्रोदेखि छैटौं नम्बरसम्मका अधिकारीहरूलाई डिआइजी सिफारिस गरिएको थियो। यसपछि उनी असन्तुष्ट रहँदै आएका छन्।
बढुवा सिफारिस सार्वजनिक भएको दिन अधिकारी कार्यालयमै उपस्थित थिए। तर त्यसपछिका दिनहरूमा उनी कार्यालय पुगेका छैनन्। १० गते छठ बिदा परेको र त्यसपछि उनले केही व्यक्तिलाई फोन गरी राजीनामा दिने तयारीमा छु भनेको स्रोतहरूले जनाएका छन्।
अधिकारी हाल केन्द्रीय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा खटिएका छन्। प्रतिष्ठान स्रोतका अनुसार उनले न त बिदा मागेका छन्, न त कार्यस्थलमा हाजिर भएका छन्।
मंगलबार बिहानदेखि नै अधिकारीले राजीनामा दिएको खबर फैलिएपछि प्रहरी महानिरीक्षकको सचिवालयमा चहलपहल बढेको थियो। तर सचिवालयका एक अधिकारीका अनुसार अहिलेसम्म कुनै औपचारिक पत्र प्राप्त भएको छैन।
यस विषयमा नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले पनि राजीनामाबारे कुनै पुष्टि नभएको बताए। के भइरहेको छ भनेर बुझ्न अधिकारीलाई फोन गरेको थिएँ, तर सम्पर्क हुन सकेन, उनले भने।
एसएसपी अधिकारीको मोबाइल फोन मंगलबार बिहानदेखि स्विच अफ अवस्थामा छ, साथै उनको ह्वाट्सएप र म्यासेन्जर पनि अनलाइन छैन।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया