काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेन–जी’ प्रतिनिधिहरूसँग त्रिपक्षीय वार्ता गर्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बुधबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। उक्त बैठकमा सरकार, राजनीतिक दल र जेन–जी समूहका प्रतिनिधिहरू सहभागी हुनेछन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको अनुकूल वातावरण सिर्जना गर्न यस बैठकको आयोजना गरिएको हो। ‘निर्वाचन सफल बनाउन सरकार निरन्तर रूपमा राजनीतिक दल र सम्बन्धित पक्षहरूसँग चरणबद्ध छलफल गरिरहेको छ,’ मन्त्री खरेलले बताए।
यसअघि कात्तिक ४ गते सरकारले राजनीतिक दलहरूसँग सर्वदलीय बैठक गरेको थियो। प्रधानमन्त्री कार्कीको आह्वानमा भएको उक्त बैठकमा निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सबै दल सकारात्मक बनेका थिए। त्यसयता सरकार र विभिन्न पक्षबीच औपचारिक संवाद र समन्वय जारी छ।
मन्त्री खरेलले सरकार निर्वाचनको सम्पूर्ण तयारीलाई तीव्र बनाउँदै अघि बढेको जानकारी दिए। उनका अनुसार सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा परामर्श र समन्वय गर्दै आवश्यक तयारीका लागि स्पष्ट निर्देशन दिएको छ। आयोगले पनि सोही अनुरूप निर्वाचनका प्राविधिक र व्यवस्थापकीय तयारी अघि बढाइसकेको छ।
त्रिपक्षीय संवादलाई आगामी निर्वाचनका लागि सर्वसम्मत वातावरण निर्माण गर्ने सरकारको प्रयासको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया