काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेन-जी आन्दोलनका आवरणमा न्यायालयमाथि आक्रमण गरी नेपालको कानुनी प्रणाली अस्थिर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आन्दोलनका क्रममा न्यायालयमाथि भएको आक्रमण कुनै साधारण घटना नभएको बताए। पोखरेलका अनुसार यो गतिविधि मुलुकको कानुनी शासनलाई कमजोर बनाउने योजनाबद्ध प्रयास हो।
उनले भने, जेन-जी आन्दोलन दबाउन न्यायालयको कुनै भूमिका नै छैन, तर न्यायालयमाथि आक्रमण गरेर कानुनी प्रणाली खलबल्याउने षड्यन्त्र भयो।
महासचिव पोखरेलले जेन-जी आन्दोलनका मागहरू धेरै हदसम्म जायज भए पनि त्यसमा राष्ट्रविरोधी र स्वार्थी तत्त्वको प्रभाव देखिएको टिप्पणी गरे। उनका अनुसार, नवयुवाहरूको असन्तुष्टिलाई बाह्य स्वार्थले दिशाभ्रमित बनाउन खोजिरहेको छ।
उनले हालको सरकारलाई “एनजीओ र आइएनजीओको प्रभावमा चलेको सरकार” भन्दै आलोचना गरे। पोखरेलले भने, ‘सरकारले गैरसरकारी संस्थाहरूलाई जेन-जी आन्दोलनको स्टेकहोल्डरको रूपमा लिएको छ, तर नेपालको संविधानले यस्तो भूमिकाको परिकल्पना गरेको छैन।
आन्दोलनका नाममा सुरक्षाकर्मीका हतियार लुटिनु र कैदीहरू फरार हुनुजस्ता घटनाले मुलुकमा असुरक्षा बढाएको भन्दै पोखरेलले यी गतिविधिले आगामी निर्वाचनमा त्रास फैलाउने चेतावनी पनि दिए।
उनका अनुसार, कानून र सुरक्षामा विश्वास घटाउने कुनै पनि गतिविधि लोकतन्त्रका लागि खतरनाक संकेत हुन्, र राज्यले तत्कालै यस्ता प्रवृत्तिमाथि कठोर निगरानी गर्नुपर्ने आवश्यकता छ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया