काठमाडौं । कोशी प्रदेश सरकारले विद्युत् महसुल विवादका कारण उद्योगका लाइन काटिँदै बन्द हुने अवस्थालाई अस्वाभाविक ठहर गर्दै उद्योग सञ्चालनको सहज वातावरण बनाउन संघीय सरकारसँग आग्रह गरेको छ।

मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उद्योगहरूमा विद्युत् आपूर्ति रोकिनु असामान्य कदम भएको बताउँदै समस्या समाधानका लागि वार्ता र संवादमार्फत अघि बढ्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन्।

advertisement

उनका अनुसार करिब दुई दशकदेखि नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच ‘डेडिकेटेड फिडर’ र ‘ट्रकलाइन’ सम्बन्धी विवाद समाधानविहीन रहँदै आएको छ।

मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रको प्रमुख आधार निजी क्षेत्र हो। बक्यौता विवादका कारण उद्योग ठप्प हुँदा रोजगारी र समग्र अर्थतन्त्रमा पर्ने असर स्वाभाविक छ। यस्तो अवस्थामा सरकारले पहल गरेर उद्योग सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्न आवश्यक छ।’

गत भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार माध्यममा भएका आगजनी र तोडफोड घटनाले लगानीकर्तामा असुरक्षा र निरुत्साह बढाएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

‘स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने अवस्था सिर्जना भएको छ, त्यसलाई रोक्न नेपाल सरकारले संवेदनशील र जिम्मेवार भूमिका खेल्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री कार्कीले राज्य र निजी क्षेत्रबीच यति लामो समयदेखि असमझदारी रहनु दुःखद भएको उल्लेख गर्दै उद्योगका बहुआयामिक प्रभावलाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोज्न संघीय सरकारलाई आग्रह गरेका छन्।

उनले थपे, ‘राज्य र निजी क्षेत्रबीचको विश्वास अभिवृद्धि गरी खस्कँदो अर्थतन्त्रलाई पुनः लयमा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु। कोशी प्रदेश सरकार वार्ता र संवादको वातावरण निर्माणमा सदैव प्रतिबद्ध छ।’

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com