काठमाडौं । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि विस्तृत सुझाव दिएको छ।
सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की नेतृत्वको टोलीले शुक्रबार मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामना व्यक्त गर्दै स्वास्थ्य क्षेत्रका प्रमुख चुनौती र सुधारका दिशा बारे सुझावपत्र हस्तान्तरण गरेको हो।
सङ्घले प्राथमिक स्वास्थ्य संरचनालाई सुदृढ बनाउने, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन, र सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिताको स्पष्टता कायम गर्ने प्रस्ताव अघि सारेको छ। साथै, चिकित्सक, स्वास्थ्यकर्मी र आम जनतालाई केन्द्रमा राखी नीति सुधार गर्नुपर्नेमा जोड दिएको छ।
भेटपछि जारी विज्ञप्तिमा सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै मानवस्रोत व्यवस्थापन र समायोजनमा सुधार आवश्यक भएको उल्लेख गरेको छ।
सङ्घले सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीका लागि समान कामका लागि समान पारिश्रमिक नीति तुरुन्त लागू गर्न सरकारलाई आग्रह गरेको छ। साथै, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल, स्थानीय सरकार र कानुनी संरचनामा सुधार गर्दै स्पष्ट जिम्मेवारी, पर्याप्त पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र सेवा गुणस्तर सुनिश्चित गर्न प्रभावकारी समन्वय आवश्यक रहेको सुझाव दिएको छ।
सङ्घले मन्त्री गौतमको कार्यकालमा स्वास्थ्य सेवा प्रणालीलाई पारदर्शी, जिम्मेवार र जनमुखी बनाउन ठोस पहल हुने अपेक्षा पनि व्यक्त गरेको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया