काठमाडौं । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आगामी निर्वाचनमा आफू, लक्ष्मण थारु र धनिराम चौधरीलाई प्रतिस्पर्धामा भाग लिन नदिए देशमा चुनाव नै सम्भव नहुने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित ‘जेन–जेड आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ विषयक बृहत् राजनीतिक संवादमा बोल्दै उनले टिकापुर घटनामा आफूहरूलाई योजनाबद्ध रूपमा फसाइएको दाबी गरे।
चौधरीले भने, ‘देश परिवर्तनका लागि लड्ने हामी, अधिकारका लागि आन्दोलन गर्ने हामी, तर कलम चलाउनेले फैसला गर्ने? अनि हामीले त्यो फैसला मान्नुपर्ने?’ भन्दै न्यायालयप्रति प्रश्न उठाए।
उनले थपे, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन नपाए देशमा चुनाव नै हुन सक्दैन। सिङ्गो थारु समुदायको विद्रोह पन्छाएर कसरी चुनाव हुन्छ? नेपाली कांग्रेस, एमाले र जेन–जेडको इतिहासले पनि देखाएको छ— जनभावना पन्छाएर चुनाव सम्भव हुँदैन।’
चौधरीले जेन–जेड आन्दोलनमा नागरिकहरूको व्यापक समर्थन रहेको उल्लेख गर्दै सहभागीहरूलाई नआत्तिन आग्रह गरे। साथै, जेन–जेडका युवाहरूलाई योजनाबद्ध रूपमा फसाउने सम्भावनाप्रति सचेत रहन पनि उनले चेतावनी दिए।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया