काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले आफूविरुद्ध सञ्चालित ‘चरित्र हत्या अभियान’प्रति गम्भीर आपत्ति जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनारले मन्त्री बन्ने सूचीमा आफ्नो नाम आएपछि विभिन्न मिडियामा नघटेका घटना र झुटा आरोपहरू प्रचार गरेर आफूलाई बदनाम गर्ने प्रयास भएको बताएका छन्।
उनले भने, ‘जाजरकोटमा नवराज विकलगायतको सामूहिक हत्या भएजस्तै, मेरो पनि मिडियामार्फत सामूहिक चरित्र हत्या गरिएको छ।’
सुनारका अनुसार आफू न हिजो मन्त्रीको दौडमा थिए, न आज छन्, न भोलि हुने योजना छ। ‘मन्त्री बन्ने समाचार म आफैंले पनि सञ्चारमाध्यमबाट सुनेको हुँ,’ उनले व्यङ्ग्य गर्दै भने।
सुनारले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति आफ्नो निरन्तर समर्थन रहेको स्पष्ट गर्दै, आफूमाथि लगाइएका आरोपहरू प्रमाणित भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताए।
‘यदि मैले कुनै गल्ती गरेको प्रमाणित भयो भने हतकडी लगाएर लैजानुहोस्,’ उनले भने, ‘तर झुटा आरोपले मलाई कमजोर होइन, अझ बलियो र दृढ बनाएको छ।’
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया