काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ‘जेन–जेड आन्दोलन’ का उपलब्धिलाई संस्थागत गर्दै देशलाई सुशासन र राजनीतिक रुपान्तरणको दिशामा अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार पार्टीले आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले जेन–जेड आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको दबाब सिर्जना गरेको उल्लेख गर्दै यसलाई संस्थागत गर्दै अघि बढ्नु अपरिहार्य रहेको बताएका हुन्।
उनका अनुसार मुलुकमा भएका परिवर्तनलाई वैधता दिन र आगामी यात्रालाई स्थायित्व दिन निर्वाचनमा जानुको विकल्प छैन।
‘डा. बाबुराम भट्टराईजस्ता नेताले पनि दलको सीमाबाहिर निस्केर एउटा स्वतन्त्र उदाहरण प्रस्तुत गर्नुभएको छ,” वाग्लेले भने, “यसले सबै दलमा रुपान्तरणको चाप र दबाब बढाएको छ। अब त्यो ऊर्जा संग्रह गरेर सुशासन र वैधताको दिशामा अघि बढ्नुपर्छ।’
उनले पछिल्ला आन्दोलनका उपलब्धिलाई संरक्षण गर्दै देशलाई अग्रगमनको बाटोमा लैजानुपर्ने आवश्यकता औंल्याए। ‘हामीले पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरू जोगाउनैपर्छ,’ उनले भने, ‘कहिलेकाहीँ आन्दोलनको आँधिबेहरीमा पुराना उपलब्धिहरू मेटिने वा उल्टो दिशामा धकेलिने जोखिम रहन्छ, त्यसैले हामीले अघि बढ्ने बाटो रोज्नुपर्छ।’
संविधान, विधि र विधानको सम्मान गर्न सबै पक्षलाई सचेत रहन आग्रह गर्दै उनले त्यसको उल्लङ्घन भए पनि विचलित प्रणालीलाई पुनः ‘ट्रयाक’ मा ल्याउन सीमित उपाय अपनाउनुपर्ने बताए।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया