काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वर्तमान सरकारमार्फत नै चुनावमा जानुको विकल्प नभएको स्पष्ट पारेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन नहुँदा देश गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन्। उनका अनुसार यही संविधानको मर्मअनुसार र यही सरकारमार्फत मुलुकलाई निर्वाचनको दिशामा अघि बढाउनुपर्ने आवश्यकता छ।
भट्टराईले भने, ‘अब निर्वाचन जसरी पनि गर्नैपर्छ। यदि तोकिएको समयमा चुनाव हुन सकेन भने देश डरलाग्दो अँध्यारो सुरुङमा फस्नेछ। त्यसैले हामी सबैले मिलेर सुशीला कार्की नेतृत्वको यो अन्तरिम सरकारलाई सुदृढ बनाउँदै छिटो चुनाव गराउनेतिर अघि बढ्नुपर्छ।’
उनले वर्तमान अन्तरिम सरकारका कमजोरीलाई सच्याएर मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउन सबै राजनीतिक दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए।
भट्टराईले नेपालको वर्तमान संविधानलाई नै आधार मानेर रास्वपालगायतका वैकल्पिक दलहरूले राजनीतिक यात्रा अघि बढाउनुपर्ने धारणा राखे। ‘रास्वपाका साथीहरूका आफ्नै आधार छन्। फरक–फरक दलका रूपमा पनि निर्वाचनमा सहभागी हुन सकिन्छ,’ उनले भने।
भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित निकायहरूलाई सबल र स्वायत्त बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले प्रणाली सुदृढ पार्न संस्थागत सुधार आवश्यक रहेको उल्लेख गरे।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया