काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का लागि नयाँ महाप्रबन्धक अब खुला प्रतिस्पर्धामार्फत चयन गरिने भएको छ। योग्य उम्मेदवार सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको नाताले शुक्रबार उक्त समिति गठन गर्ने निर्णय गरेकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा क्याप्टेन कुलबहादुर लिम्बु विज्ञ सदस्यका रूपमा रहने छन् भने मन्त्रालयका योजना तथा प्रशासन महाशाखाका प्रमुख (सहसचिव) सदस्य–सचिवका रूपमा रहनेछन्।

advertisement

समितिलाई एक महिनाभित्र खुला प्रतिस्पर्धामार्फत योग्य उम्मेदवारको छनोट गरी सिफारिस गर्न निर्देशन दिइएको छ।

नयाँ महाप्रबन्धकको नियुक्ति नहुँदासम्म निगमका वरिष्ठतम् अधिकारी उपमहानिर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको छ।

त्यस्तै, निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्ष विक्रम राईले सम्हाल्ने पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिएका छन्।

सरकारले खुला प्रतिस्पर्धाको माध्यमबाट पारदर्शी र योग्य नेतृत्व चयन गरी निगमको सञ्चालनमा सुधार ल्याउने उद्देश्यले यो प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com