काठमाडौं । भदौ २४ गते प्रहरीको पेस्तोल लुटपाटमा संलग्न समूहका पाँच जना व्यक्ति पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौं प्रहरीले हतियारसहित पक्राउ गरेको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेका व्यक्तिहरूको साथबाट एउटा पेस्तोल, एउटा म्याग्जिन र १५ राउन्ड गोली बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

advertisement

प्रहरीका अनुसार भदौ २४ गतेको घटनामा धुनिबेशी गाउँपालिका घर भई काठमाडौं बस्दै आएका २१ वर्षीय कृष्ण गुरुङ संलग्न थिए। उनलाई पक्राउ गरेपछि उनले लुटिएको पेस्तोल बेचिसकेको खुलासा गरेका छन्।

गुरुङले काठमाडौंको भगवानपाउँस्थित जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउलासँग मिलेर पेस्तोल लुटेका थिए। त्यसपछि दुबैजनाले उक्त हतियार २४ वर्षीय अकबर खानलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अकबरले सो पेस्तोल बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्यलाई बेचेका थिए भने अन्ततः उक्त हतियार क्षेत्रपाटी बस्ने ३८ वर्षीय प्रभात मल्लले किनेका थिए।

प्रहरीले यी पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। ‘एकले अर्कोलाई बेच्दै गएपछि अन्तिममा हतियारसहित पक्राउ परेका हुन्,’ एसपी भट्टराईले बताए।

पक्राउ परेकामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरिएको छ। काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com