काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा नागरिकको उल्लेखनीय सहभागिता देखिएको छ।
आयोगका सातै प्रदेश र ७० जिल्ला निर्वाचन कार्यालयमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य जारी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार हाल विद्यमान मतदाता सूचीमा नाम दर्ता गराइसकेका नागरिकहरूबाट पनि ठूलो संख्यामा अद्यावधिकका लागि भीड देखिएको छ।
आयोगले गत असोज ९ गतेदेखि नाम सङ्कलन सुरु गरेको हो। यस अवधिमा हालसम्म ९० हजार ३२ नयाँ नागरिकले आफ्नो नाम दर्ता गराएका छन्। आयोगको अनुमान अनुसार कात्तिक ३० गतेसम्म यो संख्या थप एक लाखले बढ्ने सम्भावना छ।
यसअघि रूपन्देही-३ मा कात्तिक १७ गतेका लागि तय गरिएको उपनिर्वाचन प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति तोकिएपछि रद्द गरिएको थियो। आयोगका अनुसार त्यसबेला (कात्तिक १६ सम्म) मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० पुगेको थियो।
अब फागुन २१ मा हुने निर्वाचनका लागि आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकलाई मतदान गर्ने अधिकार हुनेछ, जबकि नाम दर्ता गर्नका लागि १६ वर्ष पुगेका व्यक्तिहरू योग्य हुनेछन्।
नाम दर्ताका लागि नागरिकले निर्वाचन आयोगले तोकेको केन्द्र वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा नागरिकता प्रमाणपत्रसहित उपस्थित भई जैविक विवरण (बायोमेट्रिक) दिनुपर्नेछ। आयोगले सहजताका लागि अनलाइन ‘पूर्वदर्ता’ प्रणाली पनि उपलब्ध गराएको छ।
यदि नागरिकता प्रमाणपत्रमा उल्लेखित ठेगाना भन्दा फरक स्थानमा हाल स्थायी बसोबास भइरहेको छ भने बसाइँसराइ प्रमाणपत्र वा विवाहका कारण ठेगाना परिवर्तन भएको हकमा विवाह दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
नामावली अद्यावधिकको क्रममा नाम थप, सच्याउने, सार्ने, हटाउने र दाबी-विरोधजस्ता कार्यहरू पनि भइरहेको आयोगले जनाएको छ।
गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचनको तयारी तीव्र बनेको हो। सरकार अहिले राजनीतिक दलहरू, जेन-जी समूहहरू, निर्वाचन आयोग र सुरक्षा निकायसँग निरन्तर संवाद गर्दै निर्वाचनका लागि सहज वातावरण निर्माणमा जुटेको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया