काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै नेता र कार्यकर्तालाई पुनः एकताको आह्वान गरेका छन्। उनले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्ध नेपालको यात्रामा एमालेको ऐतिहासिक योगदान स्मरण गर्दै विगतमा अलग भएका सबैलाई ‘आफ्नै घर फर्किन’ आग्रह गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी सन्देशमा अध्यक्ष ओलीले एमालेलाई केवल एउटा राजनीतिक दल नभई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भनेर परिभाषित गरेका छन्। उनले लेखेका छन्,तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण यो पार्टीको जग बसाल्न अर्पण गरेका छन्, कोहिले जेल र यातना सहे, कोहीले बलिदान दिए, र असंख्य कार्यकर्ताले स–साना योगदानहरू दिए।

advertisement

ओलीले देश हाल गम्भीर राजनीतिक र राष्ट्रिय संकटको घेरामा परेको दाबी गर्दै लोकतान्त्रिक संविधान, स्वाधीनता र राष्ट्रिय अस्तित्वमाथि आक्रमण भइरहेको उल्लेख गरे। उनका अनुसार, “अहिले महाविनाश निम्त्याउने खतरा देखिएको छ, यस्तो बेला हामी मौन बस्न सक्दैनौं।

देशको स्वाभिमान, लोकतन्त्र र राष्ट्रिय एकता जोगाउन सबै एकै स्वरमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विगतमा एमाले निर्माणमा भूमिका खेलेका सबै नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरे। ओलीले भनेका छन्,यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फर्किनुस् आफ्नै घरमा, काँधमा काँध मिलाएर अघि बढौं।

पुनः एकताको सन्देश दिँदै ओलीले थपे,हामी एउटै परिवार हौं। हाम्रो लक्ष्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली। कुनै भ्रममा नपरी निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com