काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने निर्णय गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले बहुमतको आधारमा एकताको प्रस्ताव अनुमोदन गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले पुष्टि गरेका छन्।
बैठकमा सहभागी अधिकांश सदस्यले माओवादी केन्द्रसँगको एकतालाई वाम शक्ति एकताका दिशामा महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन्। खतिवडाका अनुसार, बैठकमा प्रस्तुत एकता प्रस्तावलाई व्यापक समर्थन प्राप्त भएको छ।
तर, केही वरिष्ठ नेताहरू भने निर्णयसँग असहमत देखिएका छन्। सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान र हरि पराजुली लगायतका नेताहरूले एकताको विरोध गरेका छन्।
विपक्षमा रहेका नेता लक्ष्मण लम्सालले बहुमत भने एकताको पक्षमा रहेको बताए। उनका अनुसार, हाल केन्द्रीय कमिटीमा ४१९ सदस्य छन्, जसमा करिब २०० जना बोलेका थिए। तीमध्ये बहुमतले माओवादी केन्द्रसँगको एकतालाई समर्थन गरेका छन्।
एकताको पक्षमा खुलेका नेता वामदेव गौतमले यसलाई वाम एकताका व्यापक प्रयासको सुरुवातका रूपमा लिनुपर्ने बताए। उनले भने, हामी बुझेर अघि बढ्नुपर्छ, ।माओवादी मात्र होइन, एमालेसँग पनि अन्ततः एकता गर्ने दिशामा लाग्नुपर्छ। यो यात्राभित्र संघर्ष र रूपान्तरण दुवै हुनेछ।
स्मरणीय छ, तत्कालीन नेकपा (एमाले)भित्रको विवादका कारण माधवकुमार नेपाल नेतृत्वको समूहले २०७८ भदौ ९ गते अलग पार्टी गठन गर्दै नेकपा (एकीकृत समाजवादी) स्थापना गरेको थियो।
नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरूसँग गठबन्धन बनाएर २०७९ सालको प्रतिनिधि सभा चुनावमा सहभागी भएको उक्त पार्टीले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेपछि राष्ट्रिय दलको हैसियत प्राप्त गर्न सकेको थिएन।
अब, माओवादी केन्द्रसँगको एकता भएपछि वाम शक्ति पुनः एक ढाँचामा आउने प्रयासका रूपमा यो निर्णयलाई हेरिएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार













प्रतिक्रिया