सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारको तत्कालीन र प्रभावकारी पहल आवश्यक रहेको बताएका छन् ।
शुक्रबार आयोजनास्थल बबई पुगेर प्रमुख अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालाहरूसँग स्थलगत निरीक्षण तथा छलफल गर्दै मुख्यमन्त्री कडेलले हालको कार्यगतिले आयोजनाको भविष्यप्रति गम्भीर चिन्ता उत्पन्न भएको बताए ।
उनका अनुसार, सुरुमा उत्साहजनक रूपमा अघि बढेको आयोजना पछिल्ला वर्षहरूमा सुस्त गतिमा सीमित हुँदै गएको छ । उनले भने, ‘थपिएको समयको अन्त्यतिर पनि जम्मा साठी प्रतिशत काम मात्र पूरा भएको छ, यही ढिलाइका कारण अर्को चार वर्षभित्र सम्पन्न हुने सम्भावना देखिँदैन ।’
मुख्यमन्त्री कडेलले यो आयोजना संघीय सरकारको अधिकारक्षेत्रमा पर्ने भए पनि प्रदेश सरकार पनि यसको सफलताप्रति समान रूपमा चासित रहेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनामा पर्ने भेरी–बबईलाई अहिलेको अवस्थामा छाड्नु गलत हुने टिप्पणी गर्दै संघीय सरकारले तत्काल विशेष कार्ययोजना बनाएर कामको गति तीव्र पार्नुपर्नेमा जोड दिए ।
उनले संघीय सरकारले परियोजनाको अवस्थालाई ‘समस्याग्रस्त आयोजना’ को सूचीमा राख्ने तयारी गर्नुको सट्टा, अवरोध हटाई प्रगति सुनिश्चित गर्ने कदम चाल्नुपर्ने सुझाव दिएका हुन् ।
आर्थिक वर्ष २०७१/७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको हालसम्मको समग्र प्रगति करिब ५७ प्रतिशत मात्र पुगेको छ । आयोजनाको अन्तिम म्याद २०८२ साल चैत तोकिएको छ । तर, अझै १० जना उच्चस्तरीय प्राविधिक पदहरू रिक्त भएकाले काममा ढिलाइ भइरहेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेमा अवस्थित यस आयोजनाबाट भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा पठाइने योजना छ । आयोजनाबाट ४६.६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।
पहिलो चरणअन्तर्गत सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि २०७६ वैशाखमै सुरुङ कार्य पूरा गरेको थियो । त्यसपछि भने आयोजनाको गति क्रमशः सुस्त हुँदै गएको छ ।
मुख्यमन्त्री कडेलले अन्त्यमा भने, ‘भेरी–बबई हाम्रो प्रदेशको मात्रै नभई देशकै गौरव हो, यसको सफलता नेपालकै विकास र आत्मनिर्भरता सँग जोडिएको विषय हो, त्यसैले संघीय सरकारले विशेष पहल गर्न ढिलाइ गर्नु हुँदैन ।’
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया