काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशन कहिले गर्ने भन्ने विषयमा चलिरहेको विवाद मिल्न सकेको छैन। यही विषयमा शुक्रबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन बनेको छ।

बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले छलफल सकारात्मक भए पनि कुनै ठोस निर्णयमा पुग्न नसकिएको बताए। उनले भने, ‘अहिलेसम्म निष्कर्षमा पुगेका छैनौं। साझा धारणा बनाएर केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने सहमति भएको छ।’

advertisement

उनका अनुसार, महाधिवेशनको कार्यतालिका टुंग्याउन भोलि (शनिबार) दिउँसो १ बजेबाट केन्द्रीय समिति बैठक निरन्तर चल्नेछ।

यसअघि, बिहीबारको पदाधिकारी बैठक पनि स्थगित भएको थियो। महामन्त्री गगन थापाले पुस १६ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका थिए, तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिँदा बैठक बस्न सकेको थिएन।

बैठक स्थगित हुनु अघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले इतर पक्षका नेता डा. शेखर कोइरालासँग परामर्श गरेका थिए। संस्थापन पक्षले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि महाधिवेशन गर्न सम्भव नभएको तर्क गर्दै वैशाखमा गर्ने अडान लिएको छ।

दुई पक्षबीच कार्यतालिकामा सहमति नजुटेपछि बिहीबार महामन्त्रीहरूले बैठक बहिस्कार गरेका थिए। कार्यवाहक सभापति खड्काले भने अन्ततः केन्द्रीय समितिले बहुमतका आधारमा निर्णय गर्ने स्पष्ट संकेत दिइसकेका छन्।

यससँगै, कांग्रेसको महाधिवेशन कहिले हुने भन्ने विषयमा अन्तिम निर्णय अब केन्द्रीय समितिको बहुमतमा निर्भर हुने देखिएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com