बुटवल । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि शुक्रबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
फलाइट नम्बर २२२ ले बिहान १० बजे धनगढी विमानस्थलबाट उडान भरेको थियो। काठमाडौं पुग्नुअघि नै विमानको हाइड्रोलिक सिस्टममा समस्या देखा परेपछि पाइलटले आपतकालीन अवतरणको निर्णय गरेका थिए।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार हाइड्रोलिक फेलियरका कारण जहाज धावनमार्गमा रोकिएपछि करिब ४० मिनेटसम्म अन्य उडानहरू अवरुद्ध भएका थिए।
विमानमा रहेका ८२ जना यात्रु र चालक दलका सदस्यहरू सकुशल छन्। यात्रुहरू अहिले गौतमबुद्ध विमानस्थलमै छन् र उनीहरूलाई काठमाडौं लैजान अर्को जहाज पठाइँदैछ।
अवतरणका क्रममा जहाजको अगाडिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि विमान धावनमार्गमै रोकिएको थियो। साढे १२ बजे समस्या समाधान भएपछि विमानलाई टर्मिनलको पार्किङ क्षेत्रमा सारिएको विमानस्थलले जनाएको छ।
हाल विमानस्थल पुनः सञ्चालनमा आइसकेको र नियमित उडानहरू सुरु भइसकेका छन्।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार











प्रतिक्रिया