काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरू संस्थागत भए पनि ती संघर्षका मूल सपना अझै अधुरा रहेको बताएका छन्।

शनिबार पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक व्यवस्थाले जनताको वास्तविक अपेक्षा पूरा गर्न नसकेको बताएका हुन्। उनका अनुसार, क्रान्तिबाट ल्याइएको गणतन्त्र जनताको हातमा होइन, सत्तामा पहुँच भएका वर्गको नियन्त्रणमा सीमित भएको छ।

advertisement

दाहालले अब जनताको सपना साकार पार्न निर्णायक र अन्तिम संघर्ष अपरिहार्य भएकोमा जोड दिए। उनले भने, शान्ति प्रक्रियाका बाँकी काम र जनताको अधिकार सुनिश्चित गर्न अब नयाँ रूपले समाजवादी क्रान्तिको तयारी गर्नुपर्छ।

गणतन्त्र स्थापनाका क्रममा विभिन्न राजनीतिक शक्तिसँग गरिएको सम्झौता तत्कालीन परिस्थितिको आवश्यकता भएको उल्लेख गर्दै उनले त्यसबाट जनताको सपना अपूरा रहनु स्वाभाविक भएको बताए। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती शक्तिविरुद्ध अस्थायी सहकार्य गरेका थियौं। ती सबै शक्ति क्रान्तिकारी थिएनन्, त्यसैले व्यवस्थाले जनताको चाहना पूरा गर्न सकेन, उनले स्पष्ट पारे।

हालको सामाजिक असन्तोषलाई क्रान्तिको ‘पूर्वसंकेत’को रूपमा चित्रण गर्दै दाहालले भने, “भ्रष्टाचार र अन्यायविरुद्ध सडकमा उत्रिएका युवाहरूले जनक्रान्तिको नयाँ सम्भावना देखाएका छन्। उनीहरू राजनीतिक रूपले सचेत र परिवर्तनका वाहक हुन्।

दाहालले शहीद, बेपत्ता तथा घाइते योद्धाहरूको बलिदानलाई स्मरण गर्दै ती सपनाहरूलाई यथार्थमा परिणत गर्न सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच व्यापक एकताको आवश्यकता रहेको बताए। उनका शब्दमा, “हामीले प्राप्त उपलब्धिहरूलाई जोगाउँदै समाजवादी रुपान्तरणतर्फ अघि बढ्नैपर्छ। यही अबको राष्ट्रिय जिम्मेवारी हो।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com