काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता जनार्दन शर्माले नेकपा (एकीकृत समाजवादी)सँग भइरहेको एकता प्रक्रिया तत्काल स्थगन गर्नुपर्ने माग गरेका छन्।
शनिबार पार्टीको महाधिवेशन आयोजन समिति सचिवालय बैठकमा बोल्दै उनले अहिले भइरहेको एकता तयारीले न त देशको राजनीतिक संकट समाधान गर्न सक्छ न त कम्युनिस्ट आन्दोलनलाई सुदृढ पार्न सक्छ भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
उनले भने, ‘यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु।’
शर्माले वर्तमान ढाँचामा भइरहेको एकता कम्युनिस्ट आन्दोलनको विघटन दोहोर्याउने खतरा बोकेको छ। उनले शहीद, बेपत्ता र घाइते योद्धाहरूको सपना, त्याग र बलिदानको अवमूल्यन हुने चेतावनी दिए।
उनले आरोप लगाए, ‘विगतको समीक्षा नगरी, वैचारिक दिशाको स्पष्टता बिना, र संगठनात्मक तयारी नगरी गरिएको एकता क्रान्तिकारी धारलाई कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पुर्याउने काम हुनेछ।’
शर्माले यस्तो ‘हात्तारको एकता’ केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्तिमा मात्र केन्द्रित रहेको बताउँदै भने, ‘यसले आम कम्युनिस्ट आन्दोलनका लागि दीर्घकालीन रूपमा हानिकारक परिणाम ल्याउनेछ। त्यसैले विचार, नीति र उद्देश्य स्पष्ट नहुन्जेलसम्म यो प्रक्रिया रोक्नैपर्छ।’
उनका अनुसार, सही वैचारिक आधार र जनपक्षीय कार्यक्रमसहितको एकता मात्र वाम आन्दोलनलाई सुदृढ पार्न सक्छ, अन्यथा यो ‘इतिहासको अर्को गल्ती’ बन्ने खतरा छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया