काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आफ्नो धारणा राखेर पार्टीको सचिवालय बैठकबाट बाहिरिएको छन्। उनले माओवादी सिद्धान्त र मूल्याङ्कनलाई छाडेर अन्य दलसँग हतारमा एकता गर्न नहुने भन्दै नेकपा (एकीकृत समाजवादी)सँगको एकता प्रक्रिया तत्काल स्थगित गर्नुपर्ने अडान व्यक्त गरेका हुन्।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको सचिवालय बैठकमा शर्मा उपस्थित भएर आफ्नो मत प्रस्तुत गरेपछि बैठकस्थलबाट बाहिरिएका हुन्।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्नि प्रसाद सापकोटा, मात्रिका यादव लगायत शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा प्रचण्डले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको सैद्धान्तिक र नीतिगत सहमति भइसकेको जानकारी गराएका छन्। उनका अनुसार, संगठनात्मक ढाँचा र नेतृत्व तहको समायोजनबारे अन्तिम छलफल चलिरहेको छ।
तर, सोही बैठकमा नेता जनार्दन शर्माले भने एकता प्रक्रियालाई अहिलेका लागि रोक्नुपर्ने मत राख्दै चेतावनी दिए, ‘माओवादी सिद्धान्त र जनआन्दोलनको मूल्यसँग सम्झौता गरेर गरिएको एकता दीर्घकालीन रूपमा हानिकारक हुनेछ।’
उनका अनुसार, पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्ने तयारी नहुँदै गरिएको एकता ‘कम्युनिस्ट आन्दोलनको बल होइन, कमजोर पक्ष’ बन्ने खतरा बोकेको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया