काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारीलाई तीव्रता दिन विभिन्न राजनीतिक दलका नेताहरूसँग निरन्तर परामर्श थालेकी छन्।
शुक्रबार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग बालुवाटारमा निर्वाचन तयारी र राजनीतिक सहमतिको आवश्यकता विषयमा विस्तृत छलफल गरेकी हुन्।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार छलफलमा सरकारले हालसम्म निर्वाचनका लागि गरेका तयारी, दलहरूको भूमिका, र आगामी दिनमा गर्नुपर्ने कामबारे समीक्षा गरिएको थियो।
प्रधानमन्त्री कार्कीले सबै दलबाट स्पष्ट र औपचारिक प्रतिबद्धता आउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, निर्वाचनमार्फत देशले स्थायित्व र दिशा पाउनेछ। त्यसका लागि सबै दलको साझा सहमति अत्यावश्यक छ।
छलफलका क्रममा महामन्त्री थापा र शर्माले कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध रहेको र शीघ्र आधिकारिक निर्णय हुने बताएका थिए। उनीहरूले एमालेलाई पनि निर्वाचन प्रक्रियामा सहभागी गराउन सरकार र सबै दलले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेस नेताद्वयले जेनजी युवालगायत विभिन्न दलसँग संवाद गर्दै युवा आन्दोलनका मागहरूलाई निर्वाचनअघि नै सम्बोधन गर्ने र निर्वाचनपछिको पहिलो संसद बैठकमा ठोस निर्णयका लागि सहमति बनाउने तयारी भइरहेको जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले नेकपा (एमाले) नेतृत्वलाई पनि छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ। तर एमाले सचिवालय बैठकका कारण उक्त भेट अर्को दिन हुने भएको हो।
यसअघि पनि प्रधानमन्त्री कार्कीले फरक–फरक चरणमा राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनका विषयमा संवाद गर्दै आएकी छन्। प्रधानमन्त्रीको पहलमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवादसमेत सम्पन्न भइसकेको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया