काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल संयुक्त राज्य अमेरिकासँग ४ विकेटले पराजित भएको हो।
दीपेन्द्र सिंह ऐरी र करण केसीको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालले प्रस्तुत गरेको २७२ रनको लक्ष्य अमेरिकाले ६ बल बाँकी छँदै पूरा गर्यो।
दुबईस्थित आइसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रनको अर्धशतकीय पारी खेले। उनले ६७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अन्त्यमा विष्फोटक ब्याटिङ गरेका करण केसीले मात्र ३१ बलमा ३ छक्का र २ चौकासहित ४९ रन जोडेपछि नेपाल सम्मानजनक स्कोरसम्म पुगेको थियो।
यसबाहेक, ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए। अमेरिकाका लागि हरमीत सिंहले ३ तथा सौरभ नेत्रवलकर र नोस्थुश केन्जिगेले समान २-२ विकेट लिए।
२७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। अमेरिकाको जितमा साईतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन र मिलिन्द कुमारले ७० रनको महत्वपूर्ण अर्धशतकीय पारी खेले।
यी दुईबीच चौथो विकेटका लागि ११४ रनको साझेदारीले अमेरिकाको जितको आधार तय गरेको थियो।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले १० ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै, नन्दन यादव, करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए।
यो हारसँगै नेपाल जारी शृङ्खलामा अंकविहीन बनेको छ। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया