काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेपालमा कम्युनिष्ट एकताको प्रमुख बाधक ठहराएका छन्।

नेपाल प्रेस सोसाइटी, सूर्यविनायक भक्तपुरले आयोजना गरेको अन्तर्वार्तामा बोल्दै यादवले भने,देशमा आजसम्म सबै कम्युनिष्ट शक्तिहरू एक हुन नसक्नुको मुख्य कारण केपी ओली हुन्। उनी व्यक्तिगत अहंकार र सत्ता स्वार्थका कारण वाम एकताको बाटोमा ठूला अवरोध बनेका छन्।

advertisement

अध्यक्ष यादवका अनुसार अहिले पनि करिब ६२ प्रतिशत नेपाली जनता वामपन्थी विचारका पक्षपाती छन्। उनले भने,यदि एमाले बाहेकका सबै कम्युनिष्ट पार्टीहरू एक हुन सके भने देश आफैं कम्युनिष्ट शासनतर्फ उन्मुख हुनेछ।

यादवले हाल एमाले बाहेकका प्रमुख वाम दलबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा, र आफू अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीलगायतका समूहबीच व्यापक सहमति बनिसकेको छ।

“हामीबीच सैद्धान्तिक, नीतिगत र राजनीतिक रूपरेखामा लगभग सहमति भइसकेको छ,यादवले भने,अब अन्तिम चरणमा संगठनात्मक विषय टुंग्याउने काम भइरहेको छ।”

उनका अनुसार एकीकृत भएपछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)’ रहनेछ। प्रारम्भिक संरचनामा दुई शीर्ष जिम्मेवारी तोकिनेछ -संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा माधवकुमार नेपाल रहने व्यवस्था गरिएको उनले बताए।

यादवले फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनपछि पार्टीको महाधिवेशन गरी स्थायी पदाधिकारी र नेतृत्व संरचना औपचारिक रूपमा चयन गरिने जानकारी दिए। उनले छिट्टै संयुक्त पार्टीको घोषणा कार्यक्रम आयोजना गरिने पनि बताएका छन्।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com