काठमाडौं । चार दिनदेखि रोकिएको उपत्यकाको फोहोर व्यवस्थापन पुनः सुरु भएको छ। नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइट आइतबारदेखि सञ्चालनमा आएको हो।
सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा गएको सरकारी टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गर्दै १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न अनुमति दिएका छन्।
आइतबार बिहान मन्त्री घिसिङसँगै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई लगायतको टोली बञ्चरेडाँडा पुगेको थियो।
स्थानीय बासिन्दाहरूले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए।
गत शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षमा नपुगेपछि चार दिनदेखि फोहोर व्यवस्थापन ठप्प भएको थियो।
काठमाडौँ महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा दैनिक १५० भन्दा बढी गाडी फोहोर फाल्ने गरिन्छ। सो क्षेत्रबाट नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिकाका साथै धादिङको धुनवेशी नगरपालिकाका स्थानीयवासी लामो समयदेखि दुर्गन्ध र प्रदूषणबाट प्रभावित हुँदै आएका छन्।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया