काठमाडौं । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहितको पार्टी एकता कात्तिक २० गते काठमाडौंमा औपचारिक रूपमा घोषणा हुने भएको छ।
आज बिहान बसेको माओवादी केन्द्र सचिवालय बैठकले एकता घोषणा कार्यक्रम यही मितिमा गर्ने निर्णय गरेको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए।
सापकोटाका अनुसार, पार्टी एकतामा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल सहभागी हुनेछन्।
एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राखिने सहमति भएको छ। साथै राजनीतिक सिद्धान्तमा परिवर्तन गर्दै माओवाद हटाइने र मार्क्सवाद–लेनिनवादमात्र लागू रहने भएको छ।
एकता प्रक्रिया पूरा भएपछि सहभागी दलका नेताहरू निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेश गर्ने तयारीमा छन्। आयोगले फागुन २१ मा हुने निर्वाचनको लागि कात्तिक ३० भित्र दल दर्ताको प्रमाणपत्र लिन सकिने समय सीमा तोकेको छ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया