काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ मुलुकमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ।
न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै राजदूत फिर्ता सम्बन्धी निर्णय रोकेको हो।
सरकारले दुई साताअघि ती देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, सो निर्णय कानूनी प्रक्रिया विपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो।
गत शुक्रबार सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री सुशीला कार्कीले केही राजदूतहरूले सरकारविरुद्ध अभिव्यक्ति दिएको र कतिपयको हकमा आर्थिक अनुशासनसम्बन्धी प्रश्न उठेकाले फिर्ता गर्ने निर्णय गरिएको बताएकी थिइन्।
रिटमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले फिर्ता निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै उक्त विषयमा पुनः छलफल हुने जनाएको छ।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया