बुटवल । नेकपा (एमाले) निकट युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा र द्वन्द्व उक्साउने अभिव्यक्ति दिँदै आएको भन्दै डा. कमल भूसाल (निकोलस) विरुद्ध तत्काल कारबाहीको माग गरेको छ।
आइतबार बसेको संघको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेतामाथि घर जलाउने र घेरा हाल्नेजस्ता उत्तेजनापूर्ण अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा भूसाललाई पक्राउ गरी कानूनी कारबाही गर्न सरकार र सुरक्षा निकायलाई आग्रह गरेको हो।
संघका अध्यक्ष कृष्ण कुमालका अनुसार आत्मालोचना र कानूनी प्रक्रियामा नआएसम्म भूसाललाई रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ। उनले भने, “यदि प्रहरीले आवश्यक कारबाही नगरे, युवा संघले नै कदम चाल्नेछ।”
युवा संघ रुपन्देही इन्चार्ज केशव रोक्काले समाजमा अराजकता, विखण्डन र हिंसा फैलाउने प्रयास कानूनी दायरामा ल्याउनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत भड्काउने गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।
प्रहरीका अनुसार भूसालका गतिविधि निगरानीमा राखिएका छन् र आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया