काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पहलमा वाम दलबीचको एकता प्रक्रिया तीव्र बन्दै गएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार विभिन्न दलका शीर्ष नेताहरूबीच एकता सम्बन्धी विस्तृत छलफल भएको छ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी), महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको दल, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र चिरण सी नेतृत्वको समूहका नेताहरू सहभागी छन्। यी सबै समूहहरू हाल एकता प्रक्रियामा औपचारिक रूपमा संलग्न हुने तयारीमा छन्।

advertisement

माओवादी नेताहरूका अनुसार, पूर्वमन्त्री गोपाल किराती पनि एकता अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ, तर उनी अझैसम्म औपचारिक छलफलमा सहभागी भएका छैनन्।

बैठकमा एकतापछि बन्ने नयाँ पार्टीको प्रारम्भिक संरचना बारे पनि छलफल गरिएको छ। प्रारम्भिक सहमति अनुसार, नयाँ पार्टीको नेतृत्वमा प्रचण्ड रहने र सह–संयोजकको जिम्मेवारी माधवकुमार नेपालले सम्हाल्ने प्रस्ताव अघि सारिएको छ।

यसअघि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिले शुक्रबार माओवादी केन्द्रलगायत वाम दलहरूसँग एकता गर्ने औपचारिक निर्णय गरेको थियो। त्यसको भोलिपल्टै माओवादी केन्द्रले पनि सबै कम्युनिष्ट शक्तिलाई एउटै छातामुनि ल्याउने निर्णय गर्दै प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com