काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति नजुट्दा केन्द्रीय कार्यसमितिको बैठक बारम्बार स्थगित हुँदै आएको छ । असोज २८ गतेदेखि सुरु भएको बैठकमा सहमतिको प्रयासका क्रममा पटक–पटक रोकिएको बैठकमा अब विवाद झनै गहिरिएको छ ।

महामन्त्री गगनकुमार थापा नियमित महाधिवेशन मंसिरमै सम्भव नभएको भन्दै त्यस अवधिभित्रै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनी विशेष महाधिवेशनको कार्यतालिका सहित प्रस्ताव पेस गर्ने तयारीमा रहेका छन् । तर, पार्टीका धेरैजसो नेताहरू भने विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । उनीहरूका अनुसार तयारी अभावका कारण मंसिरमा नियमित महाधिवेशन सम्भव छैन, तर त्यसपछि निर्वाचन तयारी पूरा गरी फागुन २१ पछि नियमित महाधिवेशन गर्न सकिने अवस्था छ ।

advertisement

संस्थापन पक्षका नेताहरू नियमित महाधिवेशन फागुन अन्त्य वा चैतमा गर्ने तयारीमा देखिएका छन् । उनीहरूले पहिले निर्वाचनमा ध्यान दिनुपर्ने र त्यसपछि १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् ।

शेखर कोइराला समूह भने मंसिर वा पुसमा महाधिवेशन गर्ने पक्षमा रहेको छ । तर, विवाद बढ्दै गएपछि उनीहरू पनि केही लचिला बनेका छन् । उनका अनुसार, यदि परिस्थितिले अनुमति दिएन भने निर्वाचनपछि पनि महाधिवेशन गर्न सकिन्छ। कोइरालाले विगत एक वर्षदेखि नै महाधिवेशन तयारी नहुँदा असन्तुष्टि जनाउँदै आएका छन् ।

त्यसैबीच, महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका प्रबल पक्षधर हुन् । शर्माले यसअघि पुस दोस्रो साता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए, तर सहमति नजुटेपछि उनले महासमिति सदस्यहरूको राय लिएर विवाद समाधान गर्ने सुझाव दिएका छन् । तर, त्यसमा पनि नेताहरूबीच सहमति बनेको छैन ।

पार्टी विधानअनुसार प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने व्यवस्था भए पनि, कांग्रेसले १४औं महाधिवेशनपछि चार वर्षमा एकपटक मात्रै महासमिति बैठक बोलाएको छ । गत फागुनमा बसेको महासमिति बैठकका निर्णयसमेत कार्यान्वयन नभएका सदस्यहरूको गुनासो छ ।

विशेष महाधिवेशनको पक्षमा उभिएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका छन् । उनीहरूले नेतृत्वमा दबाब सिर्जना गर्न मंगलबार पार्टी कार्यालयमै भेला बोलाएका छन् । त्यस क्रममा केही युवा कार्यकर्ताले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

पार्टीमा बढ्दो विवादका कारण आइतबारका लागि तय बैठक फेरि स्थगित भई मंगलबारसम्म सारिएको छ । आगामी बैठकमा पुसमा महाधिवेशन गर्ने प्रस्ताव पेस हुने तयारी भएको बताइएको छ । तर, माघमा राष्ट्रिय सभाको र फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने भएकाले सो अवधिमा महाधिवेशन सम्भव नभएको भन्दै धेरै नेताहरू वैशाख वा जेठमा मिति सार्ने पक्षमा छन् ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशनमाथिको विवादले पार्टीको छवि कमजोर बनाएको बताए । नेता र कार्यकर्ताले कांग्रेसभित्र एकता र सहमति चाहिरहेका छन्, उनले भने, तर अहिलेको बेमेलले पुरानै नेतृत्व नै ठिक भन्ने धारणा पुनः बलियो बन्दै गएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com