काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल (शीतलकुमार) ले माओवादी आन्दोलनभित्र भएका पटक–पटकका विभाजनहरू विचारगत कारणले होइन, व्यक्तिगत स्वार्थ र असन्तुष्टिको परिणाम भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत विचार व्यक्त गर्दै उनले माओवादीभित्र देखिएका विभाजनहरू वैचारिक रूपमा कहिल्यै औचित्यपूर्ण साबित हुन नसकेको टिप्पणी गरेका छन् । उनका अनुसार, ‘प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरू अन्ततः फेरि उही घेरामा फर्किरहेका छन्,’ भन्दै उनले थपे, ‘यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम अभिव्यक्ति हो ।’
गजुरेलले २०४६ सालको जनआन्दोलनपछि वाम शक्तिबीच भएको ऐतिहासिक ध्रुवीकरण र त्यसबाट जन्मिएको चार पार्टी — मशाल, चौम, सर्वहारा श्रमिक सङ्गठन र विद्रोही मसाल — बीचको एकतालाई जनयुद्धको वैचारिक तथा संगठनात्मक आधारको रूपमा स्मरण गरेका छन् । उनका अनुसार, सो एकताले मुलुकलाई गणतन्त्रको युगमा प्रवेश गराएको थियो ।
उनी भन्छन्, ‘अब २०८२ सालको नयाँ पुस्ता आन्दोलन (जेनजी आन्दोलन) र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दैछ । इतिहास फेरि दोहोरिँदैछ, तर यसपटकको यात्रा गणतन्त्रबाट समाजवादतर्फको दिशामा अघि बढिरहेको छ ।’
गजुरेलका अनुसार, अहिले भइरहेको वाम एकता र रूपान्तरणको प्रयास नै भविष्यको समाजवादी नेपाल निर्माणतर्फको एक मात्र सम्भावित बाटो हो ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया