काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवासको निरीक्षण गरेका छन्।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि पहिलोपटक मन्त्री अर्यालले राष्ट्रपति पौडेलको निवास पुगेका हुन्। निरीक्षणका क्रममा उनले राष्ट्रपति पौडेलको परिवारसँग भेट गरी क्षतिग्रस्त घरको मर्मतसम्भार छिट्टै सुरु गर्ने आश्वासन दिए।
मन्त्री अर्यालसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसहितका अधिकारीहरू पनि निरीक्षण टोलीमा सहभागी थिए।
यस क्रममा टोलीले बालाजु प्रहरी वृत्तको अवस्थाको पनि अवलोकन गरेको थियो। आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी वृत्त पुनर्निर्माणको काम स्थानीयवासीको सहकार्यमा सुरु भएको भए पनि जग्गाको स्वामित्व नटुंगिएको विषयमा प्रहरी प्रमुखले गृहमन्त्रीलाई जानकारी गराएको बताइएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया