काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन लिगका क्लबहरु बीच आज भएको बैठकबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघले असन्तुष्टि जनाएको छ।

स्रोतका अनुसार, एन्फाले यो वर्ष कुनैपनी हालतमा ‘ए’ डिभिजन लिग गर्न नसक्ने अडान लिएपछि अन्ततः क्लबहरु १४ महिना पछि ‘ए’ डिभिजन लिग गर्न बाध्य भएर सहमतिमा पुगेको हो।

advertisement

एन्फा र क्लबहरुले यो वर्ष र पुस ९ गते देखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ए डिभिजन लिग आयोजना गर्नेमा आज सहमति जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका छन्।

‘एन्फाले हाललाई गर्ने भनेको राष्ट्रिय लिगमा १० टोली मात्र सहभागी हुने र यसले नेपाली फुटबल वृत्तमा रहेका अधिकांश खेलाडीहरुका लागि पर्याप्त अवसर नहुने हाम्रो बुझाइ हो,’ संघका अध्यक्ष विक्रम लामाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,’ हरेक देशको फुटबलको मेरुदण्ड मानिने श्रेणी अनुसारको लिग नगर्दा यसले ए डिभिजनका १४, बि डिभिजनका १४ क्लब र सी डिभिजनका १४ गरी कुल ४२ क्लबको उपस्थिति पुन: अर्को वर्ष नहुने पक्का भएको छ । यसो हुँदा हरेक क्लबबाट न्युनतम ३० र अधिकतम ५० गर्दा १२५० देखि २१०० खेलाडी अर्को एक वर्ष खेल्नबाट बन्चित भएका छन् । ‘यसपटक पनि ए डिभिजन लिग नहुने हो भने राष्ट्रिय खेलाडीसहित शीर्ष डिभिजन लिगको अनुभव पाउनुपर्ने झन्डै १ हजार बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट बन्चित हुने संघको निष्कर्ष छ ।
‘राष्ट्रिय लिग मात्र आयोजना गर्दा ए, बि र सी डिभिजनका अघिल्लो संस्करण खेलेका खेलाडीसँगै नेपालको उमेर समूहबाट खेलेका खेलाडी लगायत अन्य नयाँ खेलाडीले खेल्न नपाउने भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘एन्फाको पछिल्लो निर्णयले हामीलाई निकै दुखित र आक्रोशित पनि तुल्याएको छ उल्लेख गर्दै संघले भनेको छ , खेलाडीको मर्म र भावनामाथि खेलवाड नै गर्ने यस निर्णयको खेलाडी संघ घोर भर्त्सना गर्दै एन्फा र क्लबहरुको यो कदमविरुद्ध मौखिक, लिखित र सामाजिक संजालबाट उठेर अब सडक संघर्षमै उत्रन बाध्य भएको महसुस गराएको छ । यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा हुनेछ।’

खेलाडी संघले गर्ने संघर्षमा फुटबलको हित चाहने सरोकारवाला, समर्थक लगायत सम्पूर्णको साथको लागि आव्हान गरेको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com