काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता प्रमाणपत्र उपलब्ध गराउने भएको छ।
गत भदौ २३ र २४ गते भएकाे जेन–जी आन्दोलनको दोस्रो दिन भण्डारीको निवासमा तोडफोड र आगजनी हुँदा उनका निजी कागजातहरू सहित नागरिकताको मूल प्रमाणपत्र समेत जलेको थियो। त्यसपछि उनले नयाँ प्रतिलिपीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार भण्डारीले दिएको निवेदनपछि प्रशासनले विभिन्न सरकारी निकायमा रहेका उनका नागरिकता प्रमाणपत्रका फोटोकपी र डिजिटल अभिलेखसँग तुलना गरी विवरण मिलेको पुष्टि गरेको हो।
‘उनको मूल नागरिकता र हाम्रो भौतिक अभिलेख दुवै जलेका थिए,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘तर डिजिटल डाटाबाट विवरण मिलेकाले प्रतिलिपी नागरिकता जारी गर्ने निर्णय भएको हो।’
जिल्ला प्रशासन कार्यालयले पूर्वराष्ट्रपति भण्डारीलाई आज दिउँसो २ बजे कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ, जहाँ उनलाई औपचारिक रूपमा प्रतिलिपी नागरिकता प्रमाणपत्र हस्तान्तरण गरिनेछ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया