काठमाडौं । शोभा पाठकले नेकपा (एमाले) का नेता महेश बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेकी छन्। मंगलबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले बस्नेतलाई राजनीतिक संरक्षणमा राखिएको आरोप लगाउँदै न्यायका लागि अन्तिमसम्म लड्ने चेतावनी दिइन्।

पाठकका अनुसार विगत ११ वर्षदेखि बस्नेतले आफूलाई निरन्तर यौन शोषण र दुर्व्यवहार गर्दै आएको बताउँदै भनिन्, ‘मैले उनको विरुद्धमा पटक–पटक जाहेरी दिँदा पनि उल्टै प्रहरी प्रशासनले मलाई नै थुनेर पीडितलाई अपराधी बनायो।’

advertisement

उनले बलात्कार, भ्रूण हत्या र डाँका चोरीसम्बन्धी मुद्दामा उजुरी दर्ता गराएको उल्लेख गर्दै भनिन्, ‘बस्नेतलाई तत्काल पक्राउ नगरे वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको जिम्मेवारी हुनेछ, म न्यायका लागि अन्तिम हदसम्म जानेछु।’

पाठकले हालका खेलकुद मन्त्री बब्लु गुप्तामाथि पनि गम्भीर आरोप लगाउँदै भनिन्, ‘बस्नेतकै योजनामा मन्त्री गुप्ताले मलाई अपहरण गरेर जबरजस्ती दुर्गा प्रसाईंविरुद्ध बोल्न दबाब दिए।’

पत्रकार सम्मेलनमा उपस्थित सामाजिक अभियान्ता र अधिवक्ताहरूले पाठकको मागलाई समर्थन गर्दै बस्नेत र गुप्तामाथि तत्काल छानबिन र कारबाहीको माग गरे।

सामाजिक अभियान्ता राधिका बरालले भनिन्, ‘सरकारले महेश बस्नेतलाई जोगाउने होइन, कानुनी प्रक्रियामा ल्याएर निष्पक्ष अनुसन्धान गर्नुपर्छ। मन्त्री गुप्ता पनि दोषी छन् भने उनीमाथि पनि कारबाही हुनुपर्छ।’

अधिवक्ता वाईपी अधिकारीले भने, ‘उजुरी परेपछि बस्नेतजस्ता प्रभावशाली नेतामाथि अनुसन्धान नगरी पीडितलाई हिरासतमा लिने प्रवृत्ति ‘सानालाई ऐन, ठूला लागि चैन’ को उदाहरण हो।’
त्यसैगरी अधिवक्ता मनिषा गौतमले राजनीतिक पहुँच र सत्ताको आडमा अन्याय र दुरुपयोग बढेको बताउँदै भनिन्, ‘अब समाजले यस्तो शक्तिकेन्द्रित अन्यायलाई सहेर बस्नु हुँदैन, न्यायका पक्षमा उठ्नैपर्छ।’

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com