काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई समेत वाम एकता प्रक्रियामा समेट्ने प्रयास भइरहेको बताएका छन्।
मंगलबार प्रज्ञाभवन, कमलादीमा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतका विभाजनहरूलाई अन्त्य गरी ऐतिहासिक एकताको दिशामा पार्टी अघि बढिरहेको बताए।
उनका अनुसार बुधवार (भोलि) माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका वाम शक्तिहरूबीच एकता घोषणा हुने तयारी अन्तिम चरणमा पुगेको छ।
बैठकमा प्रचण्डले भने, ‘माओवादीको यो अन्तिम बैठक हो। भोलि नयाँ युगको सुरुवात हुनेछ—विगतमा टुटेका कडीहरू फेरि जोडिने छन्।’
उनले डा. भीम रावल पनि उक्त एकता प्रक्रियामा सहभागी हुने विषयमा अन्तिम छलफल भइरहेको जानकारी दिए।
प्रचण्डले वाम एकतालाई समाजवादी क्रान्तिको दिशातर्फको युगीन कदमका रूपमा व्याख्या गर्दै भने, ‘यो केवल संगठनको एकता होइन, देशलाई समाजवादी मार्गमा लैजाने ऐतिहासिक अभियान हो।’
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया