काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेका नेता जनार्दन शर्मालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन् ।
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले शर्मालाई पुनर्विचार गरी संगठनमा फर्कन अपिल गरेका हुन् ।
बैठकमा प्रचण्डले भनेका छन्, ‘अझै पनि तपाईंले सोच्नुस्, फर्कनुस् । हामीले मिलेर अझ अघि बढ्नुपर्छ।’ उनका भनाइ उद्धृत गर्दै नेता अग्नि सापकोटाले भने, ‘अध्यक्षले देशभक्त सबै शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयो र नयाँ नेतृत्व टिम निर्माण गर्ने संकेत पनि दिनुभयो ।’
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सापकोटाले अहिलेको अभियानले राष्ट्रिय मुक्ति आन्दोलनका लागि सशक्त आधार तयार गरेको बताए ।
उनका अनुसार अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको दिशा तर्फ अग्रसर हुने नयाँ युगको सुरुवात भएको उल्लेख गर्दै भने, ‘जेनजी आन्दोलनले समाजवादी क्रान्तिको झल्को दिएको छ, त्यसलाई अब संस्थागत रूपमा अगाडि बढाउनुपर्छ ।’
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया