काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गरेर मात्र नयाँ जनादेशसहित अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याएका छन्। उनले महाधिवेशनलाई केवल संगठनको औपचारिक प्रक्रिया नभई कांग्रेसलाई जनतासँग पुनः जोड्ने ‘राजनीतिक पुनर्जागरणको मञ्च’का रूपमा परिभाषित गरे।
मंगलबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै थापाले भने, ‘हामीले चुनावमा जानु अघि नेतृत्वलाई जनताबाट पुनः अनुमोदित गराउनुपर्छ। महाधिवेशन नगरी चुनावमा जाने सुविधा हामीसँग छैन।’ उनका अनुसार, २२ भदौ अघि र अहिलेको नेपालको राजनीतिक अवस्था आकाश–पाताल फरक भइसकेको छ।
थापाले कांग्रेसको इतिहासले आन्दोलनमार्फत मुलुकलाई दिशा दिने काम गरेको भए पनि अहिले जनता आफ्नै पार्टीप्रति प्रश्न लिएर सडकमा निस्किएको विडम्बना औंल्याए। उनले भने, ‘कांग्रेस सधैं आन्दोलनको अगुवाइमा रह्यो, तर आज आन्दोलन कांग्रेसको सरकारविरुद्ध भइरहेको छ। यो समय आत्मपरीक्षणको हो।’
उनका अनुसार कार्यकर्ता र शुभेच्छुकहरूमा बढ्दो असन्तोषले नेतृत्वलाई कठोर निर्णय गर्न बाध्य बनाएको छ। ‘हामीलाई मतदाताले मौन अस्वीकारको भाषामा प्रश्न गर्दैछन्,’ थापाले चेतावनी दिए, ‘यदि हामीले यी प्रश्नको जवाफ नदिई चुनावमा गयौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानका समयमा देखाउँछन्।’
थापाले पार्टी नेताहरूमाझ आत्मसमीक्षाको माग गर्दै भने, ‘के जनता हामीलाई भोट दिन आतुर भएर पर्खिरहेका छन्? पार्टीका कमिटीहरू उत्साहित भएर बसिरहेका छन्? होइन, हामीप्रति प्रश्नहरू छन्, उत्तर दिनु हाम्रो दायित्व हो।’
जेन–जी आन्दोलनलाई पूर्ण रूपमा ‘प्रायोजित’ भनेर पन्छिनु गलत हुने उनको भनाइ छ। उनले चेतावनी दिए, ‘जनभावनाको स्वरलाई केवल षड्यन्त्रको रूपमा हेर्ने गल्ती नगर्नुहोस्, त्यसले हामीलाई अझ टाढा पुर्याउँछ।’
सभापति शेरबहादुर देउवाको सिंगापुर उपचार यात्राको सन्दर्भमा थापाले भने, ‘सभापतिजीले पार्टीलाई सच्याउने र पुनर्गठन गर्ने अवसर दिएका छन्। अब यो जिम्मेवारी हामी सबैको हो।’
देश अहिले निर्णायक मोडमा रहेको बताउँदै थापाले तीन सम्भावनाहरूको चित्रण गरे — मुलुक पुनः हिंसाको बाटोमा जान सक्छ, यथास्थितिमा अड्किन सक्छ, वा वर्तमान जनभावनालाई आत्मसात् गरेर नयाँ राजनीतिक दिशा लिन सक्छ। उनले जोड दिए, ‘यो अनिश्चिततालाई सम्हाल्ने जिम्मा कांग्रेसले लिनै पर्छ। हामी नअगाडि बढे कसले बढ्छ?’
थापाको भनाइले कांग्रेसभित्र नेतृत्व परिवर्तन र संगठन सुदृढीकरणको बहसलाई अझ तीव्र बनाएको छ। उनका अनुसार, महाधिवेशनले न केवल नयाँ नेतृत्व चयन गर्नेछ, तर पार्टी र जनताको बीचमा हराइरहेको भरोसा पुनर्स्थापित गर्ने अवसर पनि हुनेछ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया