काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरण प्रक्रियामा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएकी छन्।

हाल राहदानी बनाउन सेवाग्राहीले भोगिरहेको समस्या र गुनासो बढेपछि मंगलबार प्रधानमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहितका अधिकारीलाई बोलाएर बैठक गरेकी थिइन्।

advertisement

बैठकमा प्रधानमन्त्री कार्कीले राहदानी छपाइ र वितरणको हालको अवस्थाबारे विस्तृत जानकारी लिएकी थिइन्। उनले राहदानी अभावको अवस्था नआओस् र नागरिकले अनावश्यक सास्ती भोग्न नपरोस् भनेर आवश्यक तयारी र वैकल्पिक उपायहरू तत्काल कार्यान्वयन गर्न निर्देशन दिइन्।

संभावित समस्या र बढ्दो मागलाई ध्यानमा राख्दै उनले वितरण प्रणालीलाई सहज, सरल र द्रुत बनाउन ठोस कार्ययोजना अघि बढाउन आदेश दिएकी हुन्।

बैठकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत नागरिकलाई आश्वस्त पार्दै सरकार राहदानी वितरणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएकी छन्। फेसबुकमा उनले लेखेकी छन्,।

आज परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग राहदानी वितरणको अवस्थाबारे जानकारी लिएको छु। नागरिकलाई राहदानी प्राप्तिमा कुनै समस्या नआओस् भन्नेमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। मागअनुसार सहज र समयमै राहदानी वितरण सुनिश्चित गर्न सरकार निरन्तर प्रयासरत छ र छिट्टै प्रभावकारी समाधानका कदम चालिनेछन्।

सरकारले हालै बढ्दो मागका कारण राहदानी वितरणमा ढिलाइ र असुविधा भएको भन्दै सुधारका लागि तत्काल उपायहरू अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com