काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा समाप्त भएको घोषणा गरेकी छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादी पार्टी आज दिउँसो १ बजेबाट औपचारिक रूपमा विघटन हुन लागेको जनाउँदै, त्यससँगै आफ्नो राजनीतिक अध्याय पनि अन्त्य भएको स्पष्ट पारिन् ।
झाँक्रीले भनिन्, ‘एकीकृत समाजवादीसँगको यात्रा यहाँ आएर टुंगिएको छ । अब हामी नयाँ मोडमा उभिएका छौं ।’ उनले हाल नेपालमा फैलिँदो जेन–जी आन्दोलन र लोकतान्त्रिक चेतनाको बढ्दो लहरका बीच राजनीतिक दलहरू जनतामाथि उत्तरदायी हुनुपर्ने आवश्यकता औंल्याइन् ।
उनका अनुसार, एमाले र माओवादी मिलेर बनेको पूर्व नेकपाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र राजनीतिक संस्कारलाई कमजोर पारेको थियो । अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ दलबीच हुन लागेको एकताले पनि लोकतान्त्रिक मूल्य र जनविश्वासमाथि थप प्रश्न उठाउने खतरा रहेको उनले चिन्ता व्यक्त गरिन् ।
बुधबारै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत नौ वाम दलबीच ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ दल गठन हुने तयारी छ । तर, रामकुमारी झाँक्रीसहित एकतामा सहभागी नहुने नेताहरू भने नेकपा (एमाले) मा पुनः प्रवेश गर्ने तयारीमा रहेका छन् ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया