काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले माओवादी केन्द्रले पार्टीभित्रको संकट र नेतृत्वमाथि उठेका आरोप टार्नकै लागि एकीकरणको बाटो रोजेको दाबी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नौ वाम दलबीच हुन लागेको एकता कार्यक्रम ‘संकट व्यवस्थापनको प्रयत्न’ मात्रै भएको टिप्पणी गरे ।
भूसालले भने, ‘माओवादी केन्द्रले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने थियो, तर त्यसलाई टार्ने प्रयत्न भइरहेको छ । त्यससँगै हाम्रो अध्यक्षमाथि भ्रष्टाचारको मुद्दा परेपछि पार्टी सञ्चालनमा कठिनाइ देखिएपछि एकाएक एकता गर्ने निर्णय गरिएको देखिन्छ ।’
उनका अनुसार यस्तो बाध्यताले गरिएको एकताले संगठनलाई सबल बनाउने होइन, उल्टै कमजोर बनाउने जोखिम रहन्छ । ‘ओरालो लाग्दै गएका दलहरूको एकता उकालो लाग्ने सूत्र होइन,’ भूसालले जोड दिए, ‘संकटहरू थुपारेर संकट मोचन गर्न खोज्नु राजनीतिक दृष्टिले गलत अभ्यास हो ।’
महासचिव भूसालले एमालेसँग विगतमा भएको विभाजनका कारणहरूको स्पष्ट मूल्यांकन नगरी गरिने एकता दीर्घकालीन हुन नसक्ने पनि बताए ।
प्रकाशित मिति: १९ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया