काठमाडौं । राजनीतिज्ञ सुमना श्रेष्ठले अहिलेको परिस्थितिमा देशलाई वैकल्पिक राजनीतिक निकास दिन सामूहिक नेतृत्व अपरिहार्य भएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागत हुन नसक्ने उल्लेख गरेकी छन्। उनले पुराना राजनीतिक दलहरूले सुधार गर्ने वा त्यसबाट प्रभावकारी राजनीतिक निकास खोज्ने आशा गर्नु ‘मूर्खता’ हुने टिप्पणी गरेकी छन्।
‘पटक–पटक नेतृत्वमा पुगेर देशलाई निराशा बाहेक केही दिन नसक्नेहरू अहिले फेरि चुनावी समीकरण मिलाउन एकजुट भइरहेका छन्,’ उनले लेखेकी छन्, ‘तर परिवर्तन ल्याउने भनिएका समूहहरू अझै छिन्नभिन्न छन्।’
श्रेष्ठका अनुसार नयाँ पुस्ता वा वैकल्पिक सोचका समूहहरूबीच नेतृत्व कसले लिने भन्ने विषयमा विवादले आन्दोलन कमजोर बनाइरहेको छ। उनले यस्तो अवस्थामा सबै वर्ग, क्षेत्र र सामाजिक मुद्दालाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता औंल्याएकी छन्।
उनले भनिन्, ‘पार्टीलाई दिशा दिन एक जना नायक होइन, एउटा ‘Council of Leaders’ (नेतृत्व परिषद्) बनाउन सकिन्छ। विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन आवश्यक छ।’
श्रेष्ठले मध्यमार्गी बाटो समात्दै बजारलाई उचित नियमनमा राखी समृद्धि ल्याउन सक्ने, जनताको मुद्दा बोकेको वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलनको मर्म आत्मसात गर्न सबैलाई आग्रह गरेकी छन्।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया