काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गर्न निर्देशन दिएका छन्।

विहीबार मन्त्रालयमा आयोजित चलचित्रकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री खरेलले चलचित्र विकास बोर्ड र सेन्सर बोर्डबीच समन्वय गरी ‘राइट म्यान इन राइट प्लेस’ सुनिश्चित गर्न मन्त्रालयका सचिव राधिका अर्याल र सम्बन्धित महाशाखा प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

advertisement

कार्यक्रममा चलचित्रकर्मीहरूले सेन्सर बोर्डको निर्णय प्रक्रिया र कार्यशैलीप्रति गुनासो व्यक्त गरेका थिए। उनीहरूको प्रतिक्रिया सुनेपछि मन्त्री खरेलले बोर्डमा सुधार आवश्यक भएको स्वीकार गर्दै योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिने प्रतिवद्धता जनाए।

सञ्चार सचिव राधिका अर्यालले पनि सेन्सर बोर्डसम्बन्धी गुनासाहरू मन्त्रालयमा बारम्बार आइरहेको जनाउँदै विषयबारे गम्भीर रूपमा अध्ययन गर्ने बताइन्।

अन्तर्क्रियामा अभिनेता प्रदीप खड्का, निर्देशक प्रदीप भट्टराई र अभिनेता जितु नेपाललगायतका कलाकारहरूले सेन्सर प्रणाली लचिलो र यथार्थपरक बनाउनुपर्नेमा जोड दिएका थिए। निर्देशक भट्टराईले भने, फिल्म लेख्दा नै सेन्सरको डरले हात काँप्छ, अब यो प्रणालीलाई समयअनुसार सुधार गर्नुपर्छ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com