काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेकपा एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेको छ।

संघका नेताहरूले मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राष्ट्रिय स्वाधीनता, मित्रराष्ट्रसँगको सम्बन्ध र राजनीतिक दलहरूको गरिमा कमजोर पारेको दाबी गर्दै कानूनी कारबाहीको माग गरेका छन्।

advertisement

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले शनिबार राति बालेनले फेसबुकमा राखेको पोस्टले नेपालको स्वाधीनतामाथि नै प्रश्न उठाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भने, ‘राजधानीको मेयरले अशोभनीय भाषा प्रयोग गर्दै राष्ट्र र दलहरूको सम्मानमा चोट पुर्‍याएका छन्। यस्तो गैरजिम्मेवार व्यवहारमाथि कानूनी कदम चालिनुपर्छ।’

बालेनले शनिबार मध्यराति सामाजिक सञ्जालमा चीन, भारत, अमेरिका लगायतका देश र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम समेट्दै आपत्तिजनक शब्दसहितको स्टाटस लेखेका थिए। आलोचना बढेपछि केहीबेरमै उनले उक्त पोस्ट हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालभर फैलिएको थियो।

सोही विषयमा युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका नेताहरू साइबर ब्युरो पुगेका थिए। उनीहरूले मेयर जस्तो संवैधानिक पदमा बसेको व्यक्तिले अशोभनीय र अपमानजनक भाषा प्रयोग गर्नु अस्वीकार्य रहेको जनाएका छन्।

साइबर ब्युरोका एक अधिकारीका अनुसार बालेनविरुद्धको उजुरी दर्ता प्रक्रियामा रहेको छ। उनले भने, ‘उजुरी प्राप्त भइसकेको छ, अहिले प्रारम्भिक अध्ययनपछि दर्ता प्रक्रियामा छौं।’

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com