काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले न्यायालयमा पैसाको प्रभाव बढेको आरोप लगाएका छन्।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले न्यायालय निष्पक्ष नबनेसम्म आम जनताले न्याय नपाउने दाबी गरे।
उनका अनुसार अहिले न्यायालयमा इमानदार निर्णयभन्दा पनि आर्थिक प्रभावले निर्णायक भूमिका खेलेको छ। उनले भने, ‘न्यायालयमा बसेका भूतप्रेतहरूले जनता ठगिरहेका छन्। पैसा दिएपछि मात्रै फैसला हुने अवस्था बनेको छ भने, यस्तो न्यायालय भत्काएर पुनर्संरचना गर्न आवश्यक छ।’
विप्लवले न्यायालयसँगै देशको सामाजिक, आर्थिक र सांस्कृतिक संरचना पनि समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए। उनले भनिन्, ‘राज्यको पुनर्संरचना अब जनजाति, मजदुर र उत्पीडित वर्गको अग्राधिकारसहित समाजवादी संघीयतामार्फत गर्नुपर्छ।’
उनले नयाँ पुस्ताको ऊर्जा र परिवर्तनको चाहनालाई स्वीकार गर्दै आगामी दिनमा निष्पक्ष न्याय र समान अवसरको सुनिश्चितता गर्न राज्यका सबै संयन्त्रले सुधारको बाटो लिनुपर्ने सुझाव दिए।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया