काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्वागत उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखहरूले संयुक्त रूपमा गरेका थिए । सो अवसरमा नेपाली सेनाले सम्मान गार्ड अफ अनर अर्पण गरेको थियो ।

advertisement

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल सोमबार प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गरेका थिए । उनले मङ्गलबार संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार आयोजना गरिएको शिखर सम्मेलनको मुख्य सत्रमा सम्बोधन गरेका थिए ।

त्यस क्रममा उनले “सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी, तथा सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण” शीर्षकको उच्चस्तरीय गोलमेच सत्रलाई पनि सम्बोधन गरेका थिए ।

दोहा बसाइका क्रममा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । उनले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गरेका थिए ।

सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा पहिलो पटक आयोजना गरिएको ‘सामाजिक विकासका लागि विश्व शिखर सम्मेलन’को यो दोस्रो संस्करण हो । यस वर्षको सम्मेलनमा विश्वव्यापी विकास असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिको तीव्र प्रभावजस्ता विषयमा गहिरो छलफल भएको थियो ।

संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका रूपमा नेपाल सधैं शान्ति, विकास र स्थायित्वका पक्षमा सक्रिय रहँदै आएको छ । अहिले नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्ष राष्ट्रको जिम्मेवारीमा पनि रहेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com