काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा फैलिँदै गएको अशिष्टता र अभद्र भाषाले नेपाली समाजको सभ्यता, संस्कार र संस्कृतिमा गम्भीर असर पारिरहेको बताएका छन्।
भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘आजकल केहीले सामाजिक सञ्जालमा अपशब्द बोलेर सुरु गर्छन्, नेपालीले बोल्नै नहुने भाषा लेख्छन्। यस्तो असभ्यता हाम्रो सभ्य संस्कृतिभित्र पर्दैन।’
ओलीले कसैको नाम स्पष्ट नलिए पनि उनको अभिव्यक्ति हालै सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेका काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित रहेको बुझिन्छ। गत शनिबार मध्यराति मेयर शाहले अमेरिका, भारत र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै अशोभनीय शब्दावली प्रयोग गरेका थिए। ती अभिव्यक्तिप्रति व्यापक आलोचना भएपछि उनले केहीबेरमै स्टाटस हटाए पनि त्यसको स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
सो घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो परम्परा असहमति जनाउँदा पनि आदरका साथ विचार राख्ने हो। तर अहिले समाजमा अपसंस्कृति फैलाउने र अशिष्ट व्यवहारलाई सामान्यजस्तो देखाउने प्रवृत्ति बढ्दै गएको छ, जुन चिन्ताजनक हो।’
उनका अनुसार समाजमा शिष्टता, मर्यादा र सभ्यताको संरक्षण गर्न सबैको साझा जिम्मेवारी हो। ‘हामीले सभ्यता सिकाउने प्रयास गर्छौं, तर केहीले त्यसलाई नष्ट गर्न खोजिरहेका छन्,’ उनले भने।
यसै विषयलाई लिएर एमाले निकट युवा संघ नेपालले साइबर ब्युरोमा उजुरी दर्ता गरी मेयर शाहमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
ओलीले देशमा फैलिँदै गएको घृणा र असभ्य भाषाको प्रयोगले सामाजिक एकता र नैतिक धरातल कमजोर बनाइरहेको भन्दै सचेत रहन सबैलाई आह्वान गरे।
प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया