भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताको जिउधनको सुरक्षा गर्न असफल भएको आरोप लगाएका छन्। उनले अब एमालेले स्वयं टोल–टोलमा सुरक्षा समिति गठन गरी नागरिकको रक्षा गर्ने घोषणा गरेका छन्।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा बिहीबार पार्टीका नेता–कार्यकर्तासँगको भेटमा ओलीले देशभर बढ्दै गएको असुरक्षा, चोरी र लुटपाटका घटनामाथि चिन्ता व्यक्त गर्दै भने, राज्यले जनताको जिउधनको रक्षा गर्न सकेन, अब नेकपा एमालेले यो जिम्मेवारी लिन्छ।

advertisement

उनले तत्काल देशभर ‘टोल सुरक्षा समिति’ गठन गर्न निर्देशन दिँदै ती समितिहरू स्वायत्त र स्वचालित ढङ्गले सञ्चालन हुने बताए। निर्देशन दिइसकिएको छ, अब साथीहरूले टोल–टोलमा समिति गठन गर्नुपर्छ, ओलीले भने।

हालैको जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनी घटनाको सन्दर्भमा उनले समाजमा फैलिएको घृणा र नकारात्मक प्रचारकै कारण यस्ता घटना बढेको टिप्पणी गरे। “जब मान्छेलाई राक्षस बनाइन्छ, तब मात्र आगो लाग्छ। सामान्य मान्छे राष्ट्रको सम्पत्तिमा आगो लगाउँदैन, उनले भने।

अध्यक्ष ओलीले पार्टीभित्रको एकता र अनुशासनमा जोड दिँदै आफ्नै संगठनलाई कमजोर पार्ने कार्य ‘आफैंले विष खाने’ सरह भएको टिप्पणी गरे। आफैंलाई कमजोर पार्नु भनेको आफ्नै खुसीले विष खानु हो, विष खायो भने त असर गर्छ नि, उनले भने।

ओलीले एमालेले सधैं स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने र विपक्षीसँग वैचारिक प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने नीति अपनाउनुपर्नेमा जोड दिए। उनका अनुसार, प्रतिस्पर्धा हुनुपर्छ, तर दुश्मनीमा रूपान्तरण हुनु हुँदैन, यही एमालेको संस्कार हो।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com