काठमाडौं । नेकपा (एकीकृत समाजवादी) परित्याग गरेकी नेतृ रामकुमारी झाँक्रीले आफूमाथि भएको कारबाहीप्रति पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि तीव्र असन्तुष्टि जनाउँदै व्यङ्ग्यात्मक प्रतिक्रिया व्यक्त गरेकी छन्।

पार्टीले गरेको कारबाहीलाई आत्मसम्मानमाथिको प्रहार ठहर गर्दै झाँक्रीले सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपाललाई ‘आफ्नै बेइज्जती हुने कदम नचाले पनि हुने कमरेड’ भन्दै कटाक्ष गरेकी हुन्।

advertisement

झाँक्रीले लेखेकी छिन्–

प्रिय कमरेड माधव,
अभिवादन !
आफ्नै बेइज्जती हुने कारबाही नगरेको भए पनि हुने कमरेड? अब यस्तो निर्णयको के अर्थ छ र? लोकले के भन्ला भन्ने सोच्न पनि मन लागेन? तपाईंले लगभग १९ वर्ष पार्टी प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो र बाँकी समय पनि पार्टी सञ्चालनमा मुख्य भूमिका खेल्नुभयो। तर यो अन्तिम कदमले तपाईंको राजनीतिक इतिहासलाई फेरि विवादित बनायो। विर्सिएका घटनाहरू अब फेरि स्मरण हुनेछन्।’

उनले जीवनको अन्त्यमा रहँदा मान्छेले साथ लैजाने कुरा स्मृति मात्रै हुने उल्लेख गर्दै थपेकी छन्, ‘समाज र देशका लागि जीवन अर्पण गर्ने व्यक्तिले अन्त्यमा लाने भनेको त मिठो वा तितो सम्झना मात्रै हो। चिया पसलमा दुई जनाले गर्ने कुरा हो त्यो। आफ्नै मलामी कसले देख्छ र? त्यसैले, धन्यवाद कमरेड, यो अन्तिम कर्मका लागि’

झाँक्रीले अन्त्यमा नेपालप्रति शुभेच्छा व्यक्त गर्दै लेखेकी छन्, ‘बाँकी जीवन सुखमय होस्, परिवारमा शान्ति र स्वास्थ्य रहोस्। तपाईं जहाँ हुनुहुन्छ, हाम्रो अभिभावक नै हुनुहुन्छ — म सधैं त्यसरी नै सम्झिरहने छु।’

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com